Featured

ऋतु झै फर्केर आऊ है तिमी !

प्रिय मित्र (खुप ),

मिठो सम्झना।

एक्लै पिउँदै गरेको चियाको कप रित्तिएपछि दोहोरो औपचारिकता राख्‍नकै लागि भए पनि एकातिर तिमी भएको कल्पना गर्दै केही शब्द लेख्‍न चाहेँ।मेरा यी शब्दहरू तिमी भएको ठाँउमा पुग्छन, पुग्दैनन थाहा छैन।तैपनि मिठो सम्झना छ है खुप।

तिमीले चिया कम पिउन आग्रह गरेदेखि मैले चिया निकै कम पिउन थालेको छु।चियाको मात्रा कम गरेदेखि मलाई विपनामा भन्दा सपनामा तिम्रो तस्वीर झन सग्लो बनेर आउछ अनि मसँग दूधको चियामा चिनीको घोलजस्तै मिठो एहसास हुने गरी वार्तालाफ गर्छ।यस्तैमा बिहान हुन्छ।म बिउँझिन्छु।बिउँझिनासाथ मलाई चियाको तलतल लागेर आउँछ किनकि म ती मेरा प्रत्येक चियाका चुस्कीसँगै राति देखेका सपनाका गाथा पुन: देख्‍ने कोसिस गर्छु कतै तिमी देखिन्छ्यौ कि भनेर तर तिमी देखिदैनौ र पो एक कप थप चिया पिउछु।यसर्थ पो म चिया पारखी भएको हुँ।

सुनेको थिएँ आफूलाई मन पर्ने मान्छेलाई सपनामा देख्यो भने सिरानी उल्ट्याएर सुत्‍नुपर्छ, यसो गर्दा उसले पनि त्यस्तै सपना देख्छ अरे! मैले पनि तिमिलाई सपनामा एकपल्ट होइन कैयौं पटक देखेको छु।हिजो पनि तिमिलाई सदाझैँ सपनामा देखेँ।पहिला तिम्रा शरीरमा सुहाउने कपडाहरू सबै असुहाउँदा तरिकाले खुकुला भएका, गाला भित्र दबेका र आँखा गढेका देखेर तिमीलाई सोधेछु; के भयो तिमीलाई? निकै दुब्लाइछौ? तिम्रो उत्तर नआउँदै मेरो मोबाईलमा राखिएको बिहानको alarm बज्यो, म बिउँझेँ।यताउता हेरे तिमीलाई कतै देखिन।आफैसँग भने ओहो! सपना पो देखेछु।यसरी नै मैले सपनामै भए पनि तिमीसँग कैयौँ पटक भलाकुसारी गरेको छु।त्यसैले तिमीले पनि मैले जस्तै सपना देख्छौ कि भनेर सिरानी उल्ट्याएर सुत्ने गरेको छु।तिमीले सपना देख्यौं कि देखिनौँ ? सपना नै देखिनौ कि मलाई देखिनौ ?

आजसम्म तिमी सपनामा मात्र देखियौ विपनामा कहिल्यै देखिएनौ।म प्रेमपत्र लेख्‍ने समयमा नजन्मिएर नै होला सायद मेरा हातहरूले मोबाईलको प्रयोग गरी इन्टरनेटको बाटो हुँदै मलाई मेरो घरको आँगनभन्दा पहिले मनाङ्गको फु देखाए, मेरा बा-आमाको पसिनाभन्दा पहिले भारतको बम्बई (हालको मुम्बई) मा बनेको स्टिलका थाल अनि कचौरा देखाए, बनारसमा बनेको कम्बल देखाए।हाल आएर लेक असाल (जिबुटि) अनि म्यानहाटन (Manhattan) सम्म देखाउन भ्याए तर यति कुराहररू देखाउँदासम्म खै किन हो तिमीलाई आँखा अगाडि देखाँउदै देखाएन।त्यसैले तिमी सपनामा मात्र होइन विपनामा पनि छिट्टै ऋतु झै फर्केर आऊ है।

तिमीले आफ्नो फेसबुकको प्रोफाइलमा निकै समय पहिला राखेको त्यो सेतो सर्ट, खैरो कपाल, मसिनो फ्रेमको चस्माभित्र चम्किलो आँखा, ठूलो निधारसहित शालिन अनुहारवाला तिम्रो तस्वीर नै होला मैले पहिलो पटक मन पराएको।तिमीलाई थाहा छ, त्यो फोटो मैले कति पटक हेरेँ होला? यति पटक भन्‍ने त मलाई नै थाहा छैन, सायद अनगिन्ती।तिमीलाई त झन् कसरी थाहा होस् ! तिमी पो मसँग मैले जति नै बढी शब्द नेपाली शब्दकोशबाट सापटी लिएर खर्च गरी बोलाउदा बोल्दिनौ, सायद मैले छनौट गरेका शब्दहरू तिमीलाई मन पर्दैनन् होला तर मैले पहिलोपटक मन पराएको तिम्रो उल्लिखित प्रोफाइलवाला तस्वीर मसंग निकै बोलिरहन्छ, त्यो तस्वीरसंग म निकै गुनासो गर्छु त्यसैले होला कतिबेला रिसाउछ त कतिबेला निकै घुर्की लाउछ।मसँग निकै झगडा गरिरहन्छ।तिमीलाई त थाहा नै थियो कि, मलाई फकाउन आउदैन भनेर। तिम्रो सम्झना आउँदा चित्त बुझाउनकै लागि भए पनि त्यो तस्वीरसँग बोल्ने बाटो चाहिँ बन्द नगरिदिनु ल !

साहित्यमा समयको वेदना समेटिएको हुन्छ भन्‍ने थाहा पाएदेखि मैले पनि बेलाबेला कलम चलाउछु।मेरा यी लेखिएका शब्दहरू पनि त्यही वेदनाका सशक्त अभिव्यक्ति हुन्।मलाई भाषाशास्त्रका चिच्याहटलाग्दा शब्दहरू भएर होला ती तमाम शब्दहरू निकै किमती हुन्छन् जस्तो लाग्छ।कहिलेकाहीँ म आफैसंग निकैबेर शाब्दिक कुरा गर्छु, ती शाब्दिक कुराहरूलाई आवाज बनाई मस्तिष्क झञ्‍जामा परिणत गराउँदछु र आफै बेलाबेला सुन्छु।तिमीले त अनुभव गरेकी छैनौ होला कि एक्लोपन कति निकै फराकिलो हुन्छ भनेर।मैले अनुभव गरेको छु कि कतिबेला तिमीले कहिले शिक्षक झैँ प्रेरणा दिएको, कहिले अभिभावक झैँ सम्झाएको, कहिले साथीझैँ छक्क पारेको त कहिले प्रेमी झैँ भावुक बनाएको सम्झिन्छु र कहिलेकाहीँ आफैले आफैसँग सोध्छु कि यी सबै सम्बन्ध मिसिएको तिमीसँगको नातालाई म के भनेर सम्बोधन गरूँ भनेर।

कहिलेकाहीँ तिमीलाई सम्झिदासम्झिदै आफ्नो क्यानभास अगाडि राखेर त्यही क्यानभासमाथि आफ्ना अबोध औलाहरू चलाउछु।कहिले कविता लेख्छु त कहिले लेख।लेख्दालेख्दै कहिले मेरा हरफहरू बिच बाटोमै हराउँदछन् त कहिले खै कुनतर्फ मोडिन्छन्।त्यसैले अचेल म मेरा शाब्दिक हरफहरू त्यस्ता मात्र लेख्ने गर्छु कि, कुन हरफ पढ्दा तिम्रो अनुहारमा कस्तो भाव आउँछ भन्ने कुरा आफै महसुस गर्छु किनकि मलाई तिम्रो अनुहारको प्रत्यक्ष भाव हेर्न मन छ, त्यसैले तिमी छिट्टै ऋतु झै फर्केर आऊ है।

यसरी लेख्दै गर्दा तिमीसँग अनि मेरो कम्प्युटरको किबोर्डसंग मेरा औंलाहरूको प्रेम बसिसकेछ।त्यसैले होला आजकल तिमी नदेखिँदा पनि तिम्रो झल्को आइरहन्छ।किबोर्डसँग औलाहरुको प्रेम बसिसकेपछि आँखाले नहेरे पनि औलाहरूले आफै टाइप गरिदिँदा रहेछन्।यो कुरा मलाई भन्दा बढी त तिमीलाई थाहा छ।एवं प्रकारले तिमीलाई पात्र बनाएर जब म लेख्न थाल्छु नि आँखाले नहेरेरै मेरा औंलाहरूले आफै टाइप गरिदिन्छन्।लेख्दिनँ भन्दाभन्दै तिमीलाई बोलेर भन्‍न नसकेको कुरो मेरा औंलाहरूले लेखिदिन्छन्।मलाई जबर्जस्ती कुनै पनि कुरा मन नपर्ने भएता पनि पहिलोपटक मेरा औंलाहरूको यो जबर्जस्ती निकै मन पर्यो।

यस्तै जबरजस्ती गर्दै गरेका मेरा औलाहरूले प्रेम लेखिरहँदा धेरै लामो समयपछि मेरो मोबाईलमा मायालु स्वरको घण्टी बज्यो।त्यो स्वरपछाडिको मनसाय बुझ्न सायद गाह्रो थिएन मलाई।तर पनि यति धेरै लामो समयसम्म त्यो स्वर नबज्नुमा केले रोकावट ल्याएछ कुन्नि ? तिमीलाई यो प्रश्‍न सोध्न मन हुँदाहुँदै पनि सोध्न सकिन किनकि त्यसको अर्को दिन तिम्रो जन्मदिन भएर होला त्यो घण्टी बज्दाको समयमा साँच्चिकै म तिमीलाई थाहै नदिइ तिम्रो उमेर लेख्दै थिए।मैले तिमीलाई तिम्रो जन्मदिनमा केही समयको समिकरण सहितका शब्दहरु उपहारमा दिने प्रयास गर्दै थिए।त्यो शब्द समिकरण सहितको उपहार तिमीलाई कस्तो लाग्यो कुन्नि? ‘रात गर्भिणी आमा हो नपत्याए हेर भोली बिहान जन्मिन्छ’ भनेजस्तै अर्को दिन तिम्रो विशेष दिनले जन्म लियो।मैले तिमीलाई दिने उपहार तिम्रो जन्मदिन आउनु दुई घण्टा अगाडि नै पठाइसकेको थिए।तिमीलाई शुभकामना सन्देश पठाइसकेको भएर होला मैले थप कुनै प्रतिक्रिया जनाइनँ।तर पनि तिम्रो कुनै जवाफ पाइन।तिमी त आफूले एउटा मेसेज पठाएर त्यसको जवाफ आयो कि आएन भनी १० औ पटक हेर्थ्यौ अरे! मैले त तिमीलाई हिसाबै नराखी मेसेज पठाएको थिएँ, तिनीहरूको जवाफ आयो आएन भनि मैले कति पटक हेरे हुँला ?

आजभोलि गर्मीको समय भएर होला मैले दिनभर निकै गर्मी महसुस गरे।छिनछिनमा परिरहने पानिले पनि मलाई चिसोको अनुभुति गराउन सकेन।जतिसुकै गर्मी भए पनि बादल पग्लिएर आकाशबाट बर्सिएको पानी चिसो हुन्छ भन्ने कुरा बिर्सिएछु।त्यसैले होला म त्यही चिसो पानीमा रुझिरहे।चिसो लाग्ला भन्‍ने कुराको ख्यालै राखिनछु।आखिर चिसो लाग्दो पो रहेछ।यस्तो खालको चिसो मैले यसैपालि अनुभव गर्न पाए।मलाई प्राय: कुनै कुरा पनि एकतर्फी रुपमै भएतापनि कुनै न कुनै माध्यमले तिमीलाई नभनी चित्त बुझ्दैन।त्यसैले मैले अनुभव गरिसकेको भएर यो कुरा पनि तिमीलाई सेयर गर्न चाहे।तिमी यसरी चिसो झरीमा कहिल्यै नरुझ्नू ल।रुझे पनि मनतातो झरीमा रुझ्नु, यसो गर्दा चिसो लाग्दैन तिमीलाई ।

यस्तै यस्तैमा दिन बितेको पत्तै पाइन।राती सदाझैँ अबेरसम्म तिमीसंग एकतर्फी कुरा गरेछु, बिहान भएको पत्तै पाइनँ।आँखा खोल्दा त बिहानको सात नै पो बजिसकेछ।मेरो कोठामा रहेको झ्यालबाट घामको पहेँलो थोपासंगै उज्यालो अटाइनअटाई मेरो कोठामा आइरहेको थियो।तर पनि मैले आधा उज्यालो मात्र देखेँ।किनकि, मेरो सामु तिमी थिइनौँ।मलाई धित मरुन्जेल तिमीलाई हेर्नुछ।त्यसैले मेरो अगाडि झुल्किने गरी तिमी छिट्टै ऋतु झै फर्केर आऊ है।

सुरु सुरुमा तिमीसंग कुरा गर्दा एकखालको रहर मात्र हो जस्तो लाग्थ्यो। तर, थाहै पाइन मैले कि तिमी त कुन बेला मेरो आदत पो बनिसकिछौ।त्यसैले त तिमीलाई भुल्न हैन सम्झिन ज्यादा मज्जा आउँछ।अनि तिमीलाई सम्झिन्छु र निकै खुशी हुन्छु।कतै कोही मुसुक्क हाँस्यो भने तिम्रो झझल्को आउँछ।तिमी नआए पनि तिम्रो यादको उपस्थितिले मनमा एक प्रकारको उत्साह जगाउँछ र त कसैले देख्लान् कि भनेर लुकीलुकी एक्लै हाँस्छु।आजकल मलाई निन्द्रासंग शब्द साटेर रातभरि लेखेका हरेक रचनाहरूमा होस् या रत्‍नपार्कको आकाशे पुलमा सामान किन्‍ने बेलामा होस् तिम्रो सम्झना आउँछ।तर निकै दिन भो, तिमीलाई नदेखेको।तर पनि नभेटेकोजस्तो कहिले लाग्दैन, किनकि हृदयमा बसेको मान्छे सधैँ हृदयमै हुँदो रहेछ।त्यसैले सम्झिन्छु कि वास्तविक संसारमा कतै मायाको देश हुन्थ्यो भने त्यो देशको राजकुमारी तिमी हुन्थ्यौ होला।

तिमीले पनि सुनेकी छ्यौ होला; ‘फकाउने मान्छे भएसम्म जति रिसाए पनि कुनै फरक पर्दैन अरे !’ तर घरमा बसिरहँदा ‘खाजा खायौ ? खानुपर्दैन ? भन्ने सम्म सुन्‍न नपाएर भोकै दुब्लाएछु।औपचारिक भेट त तिम्रो र मेरो सायद आजसम्म कहिल्यै भएन भन्दा फरक नपर्ला।तर जब म आफ्नो मोबाईल हेर्छु, फेसबुक लगइन गर्छु अनि यस्तै, यस्तै…।तब एउटा पात्रले निकै मलाई निकै सताउछ।जसको ट्‍याग तिमीले नै भिरेकी छ्यौ। लाग्दैछ कि समयसँगै माया घटेर हैन बढेर पो जाँदो रहेछ।

तिमीले त मैले लेखेका शब्द, चिठी-पत्र च्याती फ्यँकिसक्यौ कि? तीनको भाव शब्द-शब्द सबै लेख्‍नेलाई मात्र थाहा हुन्छ।तिमीलाई त सुन्दा कति मिठो लाग्छ होला है सारङ्गीको धुन? तर कति गाह्रो हुन्छ त्यो त बजाउनेलाई मात्र थाहा हुन्छ हुनसक्छ, यो कुरो मलाई नै थाहा नभएको पो हो कि? तसर्थ मलाई नै थाहा नभएको कुरा तिमीलाई कसरी विश्वास दिलाउन सकूँ?

मैले तिमीलाई निकै सताए, तिम्रो उत्तम समय अलमलाए, तिम्रो ध्यान खलबलाए त्यसको लागि साँच्चिकै क्षमा माग्छु।तर एउटा कुरा भन्छु; मैले जानीजानी त्यसो गरेको होइन।केवल “ढिलो गरे कतिपय भोगाइ र अनुभव सम्झनामा समेत नरहने गरी मेटिएर जालान् कि” भनेर मात्र हो।तिमीलाई म अनि मैले लेखेका अक्षरहरू काँचा नै लाग्छन् होला।मैले लेखेका अक्षरहरू तिमीले काँचा नै माने पनि वास्तवमा ती सबै साँचा हुन्।ती कसैले भनेअनुसार, मैले भोगेअनुसार अनि तिमीले खोजेअनुसार लेखिएका होइनन्।यी त केवल मात्र मैले बाँचेअनुसार लेखेको हुँ।मलाई बनाएर लेखेन कहिल्यै आउँदैन।आज केवल यतिसम्म भन्छु कि, त्यो बाटो भई नहिड्नु तिमी जहाँ मेरा यादहरुले तिमीलाई बिनासित्ति रुवाई देलान् !

कुनै मोडमा अज्ञात व्यक्तिहरूका साथसाथै साच्चिकै वास्तविक व्यक्तिको यथार्थलाई पनि आधार बनाउँदा अनि बनाएर लेख्दा त्यसले एक बेग्लै खालको आनन्द महसुस गराउँदो रहेछ।मलाई पनि यस्तै महसुस गरायो तिमीलाई पात्र बनाएर लेख्दा।त्यसैले मैले पनि मेरा प्रत्येक लेख रचनाहरूमा तिमीलाई कुनै काल्पनिक पात्रको रूपमा पक्कै नलिई साँच्चिकै वास्तविक पात्रको रूपमा प्रस्तुत गरेको हुँ।तिमी मेरो क्यानभासमा शब्द बनी आएको पात्र नै भएता पनि यी सबै कुराहरू मलाई तिमीले नै बुझ्ने बनायौ।त्यसै सिकाइको माध्यमबाट मैले मेरो विवेकले भ्याएसम्म सिके।सिकेकै दर्साएँ पनि।तिमिसंग मेरो कुनै गुनासो छैन।मैले तिमीलाई पात्र बनाएर त शब्द खेलाउन सिकेको हुँ, यिनै शब्दसंग रमाउन सिकेको हुँ।कल्पना गर्न  अनि सपना देख्‍न सिकेको हुँ।सपनाको दुनियाँमा केही पल भए पनि घुम्‍न सिकेको हुँ।आज ती पलहरु मेरा स्मृतिमा ताजै छन्।तिमीसँग मेरो कुनै गुनासो छैन।बरू तिमि मेरो लागि एउटा मुख्य सिकाइ सिकाउने गुरुको रुपमा आयौ।सूर्यमुखीको सुर्यसंग अटुट सम्बन्ध भएर नै होला सदैव सुर्यलाई नमन गरिरहेको हुन्छ।ठिक त्यसै प्रकारले म पनि तिमीलाई नमन गर्दछु।

धेरै लेख्‍न मन थियो तर तिमीसँग पढ्न समयको पाबन्दी पनि त हुन सक्छ अनि मलाई एकोहोरो धेरै लेखिरहनु उचित नहुन पनि।तैपनि मलाई सधैँ हेरिरहू लाग्ने, हेल्लो के छ खबर ? प्रश्नवाचक आवाजसहितको तिम्रो तस्वीर जसलाई म निकै बेर घोरिएर हेरिरहन्छु मानौ कि जाडोयाममा चिसो पानिले नुहाउनु अघि करिब 10 मिनेटसम्म त्यो चिसो बाल्टिनको पानी घुरेजस्तै।किनकि त्यो आवाजसहितको तिम्रो तस्वीरले म कहिल्यै पनि अघाइनँ।यस प्रकारले हेर्दा कहिलेकाँही त लाग्छ हामीमध्ये कोहि कतै छुटेजस्तो त्यसैले तिमी छिट्टै ऋतु झै फर्केर आऊ है खुप।

तिम्रो आवाजसँग खुप प्रेम गर्ने

                                            चियाप्रेमी

सुझावको लागि joshinawaraj301@gmail.com

कीर्तिपुरमा पढ्न आएको विद्यार्थी!

नवराज जोशी

पुस महिना। निधारमा सुदूरपश्चिम यातायात, परेलामा धनगढी-काठमाडौं र ओठमा रात्री बस लेखेको गाडी बिहान करिब ८ बजे काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्पबाट एक सय मिटर अगाडिको पुल क्रस गरेर रोकिन्छ।

रोकिनासाथ लस्करै यात्रुहरू ओर्लिने क्रम जारी छ। त्यही बसबाट २२/२५ वर्ष जतिको एक लुखुरे केटो झोला बोकेर ओर्लन्छ। बसको सामान राख्ने पछाडिको डिक्कीबाट कपडाको टुक्रा जस्तोले मुख बाँधेको एक बोरा झिक्छ।

चामलको बोरा रहेछ। उसले त्यो बोरा सडक किनारमा राख्न मात्र के खोजेको थियो नजिकैबाट कसैले उसको हात समात्दै भन्छ, ‘ए दाइ, मेरो दाइ, ट्याक्सी-ट्याक्सी, कता जाने दाइ? आउनुस् न।’

उसको झोला बोक्न खोज्छ मानौं कि उसको आफ्नै दाइ नै हो जस्तो। तर उसले त्यो ट्याक्सीवालाको वास्तै गरेन। किनकी कलंकीबाट ट्याङ्लाफाट हुँदै हिँडेर कीर्तिपुर पुग्न जम्मा बिस मिनेट लाग्छ भन्ने सुँगा रटाइ बिर्सेको थिएन उसले।

त्यसैले सडकको पेटीमा उक्त सुँगा रटाइ सिकाउने साथीको प्रतीक्षामा बस्ने विचार गर्यो। बस्यो।

पुसको महिनाको बिहानी चिसो समय। उसले यताउती हेर्यो। उसका आँखा नजिकै सडक किनारमा आगो बालेको ठाउँमा परे। ऊ आगो नजिक गयो। छेउमा एकजनाले चारपाङ्ग्रे ठेलागाडामा चिया पकाइराखेको थियो।

रात्री बसको अनिँदो, बसको भुइँचालोवाला कम्पनसहितको थकाइ अनि यात्रा क्रममा बाटोका पसलहरूमा पाइने खान मन नलागी-नलागी खाएको खानेकुराको बाबजुत पनि गाडीबाट ओर्लिनासाथ चिसो सिजन भएकोले उसले त्यो ठेलागाडाको चिया पसलेलाई एक कप दूधचिया माग्यो र नजिकै बलिरहेको आगो ताप्दै चिया घुट्क्याउन थाल्यो।

आगो ताप्दै चिया पिउँदै गर्दा करिब दश मिनेट जति भएको थियो। कतैबाट उसको नाम लिएर बोलाएको आवाज आयो। फर्केर हेर्दा उसले देख्यो। चिन्यो कि उसलाई साथै लैजान आउने उसको साथी पो रहेछ।

एकछिन दुवै जनाको सामान्य गफगाफपछि चिया पसलेलाई चियाको पैसा कति भनेर सोध्दा पसलेले बिस रुपैयाँ भन्यो।

उसको साथी बोल्यो, ‘बिस हो र दाइ?’

जवाफ आयो, ‘दूधचियाको पन्ध्र अनि आगो तापेको पाँच।’

उसले बिस तिर्यो र उसले मनमनै सोच्यो, चिया पिउनु कहाँ सजिलो रहेछ र काठमाडौंमा!

नभन्दै उसको साथीले बोल्यो, ‘काठमाडौंमा त सास फेरेको पनि पैसा लाग्छ हौ।’

दुवै जनाको सामान्य भलाकुसारीपछि घरबाट आमाले पठाइदिनु भएको चामलको एक बोरा र झोला भएकोले दुवै जनाले हिँडेर नगई सार्वजनिक गाडी चढेर उसको अबको गन्तव्य कीर्तिपुर जाने निर्णय गरे।

कीर्तिपुर जान दुई वटा गाडी चढ्नुपर्ने साथीले जानकारी गरायो। दुवैजना कीर्तिपुर जाने भनी गाडीमा चढे। कन्डक्टरको थप्पड खाँदै बस अघि हुइँकियो।

बसमा बसिसकेपछि उसको साथीले उक्त बसको कन्डक्टरतर्फ इसारा गर्दै ‘बल्खुवारि’ भन्यो।

यो बल्खुवारि के हो? उसले केही बुझेन। लगत्तै कन्डक्टरले भाडा माग्न आउँदा पो थाहा भयो, बल्खुवारि भनेको त कीर्तिपुर जानको लागि चढेको गाडी चढी उत्रिने पहिलो ठाउँ पो रहेछ।

उसको साथीको विद्यार्थी परिचयपत्रले बसभाडा आधा मात्रै तिर्नुपर्ने तर उसको विद्यार्थी परिचयपत्र नभएर पुरै १५ रुपैयाँ गरी २३ रुपैयाँ तिर्नुपर्नेमा ‘चानचुन छैन दाइ’ भन्दै कन्डक्टरको मसिनो सुने नसुनेजस्तो गर्नुपर्ने स्वरसहित २५ रुपैयाँ तिरेर दुवैजना बल्खुवारि गाडीबाट ओर्लिए।

त्यहाँबाट अर्को गाडी चढ्नुपर्ने रहेछ। दुवैजना चामलको बोरा र झोला बोकी गाडीबाट ओर्लिएर बाटो काट्दै कीर्तिपुर जाने बाटोमा पुगे। बल्खुपारी पुगेर कीर्तिपुर जाने बस कुरे।

एकछिनमा निधारमा ‘कीर्तिपुर यातायात’ अनि परेलामा ‘कीर्तिपुर पाँगा’ लेखिएको एउटा बस आयो। बस पुरै रोकिन नपाउँदै बसको ढोकैबाट एक जना हतार-हतार ‘ओ पाँगा, पाँगा ओ… कीर्तिपुर, कीर्तिपुर…, सिट खाली, सिट खाली’ भन्दै ओर्लियो र अझै भट्याउन थाल्यो दोहोरर्याइ तेहर्याइ।

यो आवाजको गुन्जन सकिन नपाउँदै बल्ल बस स्टपमा रोकियो। बसमा खाली सिट त के बसको ग्यालरीमा उभिएका यात्रुहरू बस बाहिरबाटै प्रष्ट देखिए। त्यो अघि चिच्याउने मान्छे बसको पछाडिको चक्कामा उक्लेर बसको झ्याल खोल्दै बसको ग्यालरीमा उभिएका यात्रुहरूलाई भन्न थाल्यो- ‘ए दिदी, अलि पछाडि गैदिनू न, अलि पछाडि। ए दाइ टाउको उता फर्काउनु न, ए रातो क्याप लाउने अङ्कल अलि खुट्टा सार्नू न। मिलेर जाम् हो मिलेर….’

अनि बाहिर उभिएर बस कुरेर बसेका मानिसहरूलाई भन्न थाल्यो- ‘ओ कीर्तिपुर, पाँगा-पाँगा, पाँगा… सिट खाली, सिट खाली।’

(त्यो दृश्यले कीर्तिपुर जाने अधिकांश बसमा जहिले पनि सिट खाली हुन्छ या कन्डक्टरको सुँगा रटाइ मात्र हो।)

दुवैजना उक्त बसको ढोकामा उक्लिए। चामलको बोरा ढोकाबाट अलि माथि अड्याउनासाथ उक्त बोरामाथि यात्रुहरूको खुट्टा बर्सिन थाले। चामल बस गुड्न थाल्यो। उनीहरू पनि बसको ढोकाको छेउ समातेर उभिए।

यात्रुहरूको एकअर्काको कहिले कुहिनो, कहिले टाउको ठोक्किँदै गरेको दृश्य देखिन थाले र अघि चिच्याइरहेको कन्डक्टरले चिच्याउने भाषा परिवर्तन गरेर भन्दै थियो- ‘ए भाडा मिलाम् है, भाडा मिलाम्, चानचुन दिनु न है, चानचुन।’

उनीहरूले पनि भाडा दिन एउटा कार्ड दुई जना भन्दै ३० रुपैयाँ दिए। भाडा २३ रुपैयाँ बुझाउनुपर्नेमा अघि कलंकीको कन्डक्टरले जस्तै ‘चानचुन छैन है दाइ’ भन्दै २५ रुपैयाँ लिएर ५ रुपैयाँ फिर्ता गर्यो।

उसलाई लाग्यो कि काठमाडौंका सबै कन्डक्टरलाई एउटै कक्षामा एउटै खालको ‘चानचुन छैन भनी भाडा बढी लिने’ तालिम दिएजस्तो।

उनीहरूले पनि भाडा उक्त कन्डक्टरलाई बुझाउन मात्र के पाएका थिए, कन्डक्टर फेरि चिच्याउन थाल्यो- ‘पाँगा दोबाटो छ, पाँगा दोबाटो?’

तिनीहरू ओर्लिनुपर्ने त्यही पाँगा दोबाटो रहेछ। उसको साथीले मुख फोर्यौ, ‘पाँगा दोबाटो छ है।’

बस रोकिएजस्तो मात्र के हुन लागेको थियो अघि कराउने कन्डक्टर कराउन थाल्यो, ‘ए दाइ, छिटो झर्नू न।’

उसले सोच्यो, कलंकीमा चिया खान आगोको पैसा तिर्नुपर्ने, सार्वजनिक गाडीको कन्डक्टरसँग चानचुन पैसा नहुने। यात्रुले बढी भाडा तिर्नु नै पर्ने। काठमाडौंमा गाह्रो रहेछ।

उनीहरू पाँगा दोबाटो ओर्लिए।

उसको साथीले कोठामा तरकारी छैन, किनेर जाने भन्यो। तरकारी किन्न भनी उनीहरू अगाडि बढे। दोबाटो नजिकै एउटा सुन्दर कलाकृतिले भरिपूर्ण बुद्धबिहार देखियो। त्यस बिहार नजिकैको ओरालो बाटोमा थुप्रै मानिसहरूको घुइँचो थियो।

उनीहरू पनि त्यसै घुइँचोमा मिसिन पुगे। फुटपाथमा डोको-नाङ्लोमा प्राय: बोडी, रायोको साग, मटर कोसा, टमाटर, चिप्ले भिण्डी, काउली, खुर्सानीलगायत यस्तै-यस्तै तरकारी राखिएको थियो। उसको साथीले एकजना अधबैँसे महिला पसलेलाई सोध्यो- ‘दिदी, बोडी कसरी?’

दिदीको जवाफ आयो, ‘दश रुप्पे दाइ।’

साथीले दश रुपैयाँको नोट पसले दिदीलाई दियो। पसले दिदीले दुई सय ग्राम बोडी तौलेर दिइन्।

उसको साथीले भन्यो, ‘काठमाडौंमा एक पाउ भनेको दुई सय ग्राम हो, पाँच पाउको एक किलो।’

अनि उसले थाहा पायो कि, अघिको त्यो दश रुप्पे भनेको त एक पाउ बोडीको रुपैयाँ दश पो रहेछ।

त्यो पसलमा टमाटर नभएर साथीले अर्को नजिकैको पसलको साहुजीलाई नि उही पारामा सोध्यो, ‘दाइ टमाटर कसरी?’

जवाफ आयो, पन्ध्र।

उसको साथीले सुनायो, यो बजारको खासियत भनेकै त्रिभुवन विश्वविद्यालय पढ्ने लगायत कीर्तिपुर बस्ने अधिकांश विद्यार्थीहरू यहाँ तरकारी किन्न आउने र अधिकांशले पाउ मात्र तरकारी किन्ने भएकोले पाउमा सामान किनबेच बढी हुने हुँदा पसलेले तरकारीको मूल्य किलोमा नभनी पाउमा सुनाउने गर्छन्।

उसको साथीले एक पाउ गोलभेडा किन्यो। उसले सोच्यो, कीर्तिपुरको पाउ बजार भनेको यो पो रहेछ। दुवै जना बाटो लागे।

सुखी हुनका लागि आर्थिक समृद्धि पहिलो अनि महत्त्वपूर्ण कुरा हो। देशभित्र प्रशस्त मात्रामा काम नपाउनु जसले गर्दा आफ्नो अनि परिवारको आकाङ्क्षा आपूर्ति गर्न नसक्नुले सिर्जित गरिबी र सोको कारणले विरक्त भएर कतिपय मानिसहरू आफ्नो जन्मथलो छोड्दछन्, देश छोड्दछन्।

तिनीहरू मध्येका केहीले आफ्ना छोराछोरीको भविष्य राम्रो होस् र पछि राम्रो होला भनी आफ्नै गाँउमा ज्यालामजदुरी गरी या साहु महाजनहरूसँग ऋण निकालेर भए पनि आफ्ना छोराछोरीहरूलाई उच्च शिक्षा आर्जन गराउन कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा भर्ना गराउने र यतै कीर्तिपुर पाँगातिर कोठा भाडामा बस्न लगाउदा रहेछन्।

विद्यार्थीहरू पनि स्नातक सकेर त्रिभुवन विश्ववद्यालय कीर्तिपुरबाट आफ्नो उच्च शिक्षा अध्ययन गरेर ‘चिल’ बन्ने धोको (सबैभन्दा उचाइमा उड्न सक्ने पंक्षी) लिएर पुग्नुपर्ने ठाउँ ठान्दा रहेछन् र पुग्दा रहेछन् पनि।

ऊ पनि यस्तै चाहनाले कीर्तिपुर आएर त्रिभुवन विश्ववद्यालयमा स्नातकोत्तर पढ्न भर्ना हुन पुग्यो। भर्ना भयो। स्नातकोत्तर अध्ययन गर्न थाल्यो। कीर्तिपुरको अस्थायी बासिन्दा हुन पुग्यो।

सुरुसुरुमा त उसलाई कलंकीको चिया पिउँदा आगो तापेको पैसा तिरेको, चानचुन पैसा नहुने बसको कन्डक्टर अनि गाडी पूर्ण रुपमा नरोकिँदै ओर्लिनु पर्ने कुराले काठमाडौं नरमाइलो लागेको थियो। तर विस्तारै उसले रत्नपार्कको आकाशे पुल तथा कीर्तिपुरको बाघभैरब मन्दिरबाट देखेको काठमाडौं वास्तवमा फरक पायो।

कीर्तिपुरमा बसी त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्री पढ्ने हुँदा कीर्तिपुरको माइक्रो चढी विद्यार्थी परिचयपत्र देखाएर बल्खुपारि पुग्नासाथ सहर उपनामले चिनिने काठमाडौं निकै ठूलो, विशाल अनि राम्रो लाग्यो।

किनकी यहाँ ठूल्ठूला भवनहरू, बाटाहरू पनि निकै ठूलो अनि फराकिला, टन्नै गाडीहरू कुद्ने, जता गए पनि मानिसहरूको अनि गाडीहरूको भिडभाड, अस्पताल, सिनेमाहल, होटेल तथा लजहरू, स्कुलदेखि विश्वविद्यालयसम्मका थुप्रै शैक्षिक संस्थाहरू, मन्दिर अनि गुम्बाहरू, नाचघरदेखि फनपार्कसम्म, मजबुत सुरक्षा संयन्त्र, एयरपोर्ट, मुख्य प्रशासकीय अड्डाहरू, सपिङ मलहरू ठाउँठाउँमा भएको अनि केही राम्रै घुम्ने ठाउँहरू लगायतका थुप्रै अन्य कुराहरूले होला सायद।

उसलाई पनि जे देख्यो त्यही राम्रो, अचम्म अनि अनौठो निकै विशाल अनि गज्जबको लाग्यो कीर्तिपुर अनि काठमाडौं। थरिथरिका मानिसहरू अर्थात् थोरै लेखेर धेरै नाम कमाएका देखि धेरै लेखेर थोरै नाम कमाएसम्मका सबैका थरिथरिका मानिसहरूको आ-आफ्नै व्यस्तता। यिनीहरू सबैका आ-आफ्नै कथा-व्यथाहरू जो कपुरझैँ बिलाउने बाहेक पूरा होलान् जस्तो लाग्दैनथ्यो उसलाई। किनकी अधिकांशको बोली कमजोर पायो उसले। थियो पनि सायद।

उसले यहाँ बस्दै गर्दा महसुस गर्यो कि, यहाँ पुगेका अधिकांश मानिसहरू आर्थिक रूपमा सुकिला देखिन्छन् र देखाउने प्रयास गर्दछन् पनि। आधारभूत जीवनशैली प्राप्त छ। अर्थात् भौतिक रूपमा दुःख प्रवेश गर्ने प्वाल त्यति सहजै देखिँदैन वा तिनीहरू देखाउन चाहँदैनन्। तर किन हो तिनीहरू पटक्कै खुसी देखिँदैनन्, कुनै घाउलाई दबाएजस्तो।

यहाँ आएर तपाईं हामीहरूले सुन्दा उस्तै लाग्ने ‘खुसी’ अनि ‘सुखी’ शब्द वास्तवमा फरक चिज नै रहेछ भन्ने एक खालको धारणा बनाउन कुनै फरक अनि आपत्ति नरहला। यहाँ इन्ट्री भैसकेका धेरै मानिसहरू आफ्नो यस्तै खुसी नहुँदाको जिन्दगीभित्र अटाउँदारहेछन् वा सिङ्गो जिन्दगी बितेको पत्तै नपाउँदा रहेछन्। किनकी उनीहरू कीर्तिपुर अनि काठमाडौंलाई निकै ठूलो देख्दा रहेछन्, एकपल्ट पुग्नैपर्ने ठाउँ सम्झँदा रहेछन्।

उसले जे जसो सिके/नसिके पनि अब कीर्तिपुरमा ऊ निकै घुलमिल भैसकेको छ। दिउँसो त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्न जाने, साँझ-बिहान पाउ बजारवाला पाँगा जक्सनमा चिया डोनट खान हाजिर लगाउने अनि शनिबार ठूलो झोला बोकी (मानौं महिनौंसम्मको लागि कतै भ्रमणमा जाँदैछ) दूधपोखरीको धारामा गएर नजिकैको पसलबाट एक घण्टाको रुपैयाँ बीस तिरेर एउटा बाल्टी/बाटा भाडामा लिएर लुगा धुने र नुहाउने दैनिकी छ उसको।

कीर्तिपुरमा उच्च शिक्षा आर्जनका लागि आउने अधिकांशको दैनिकी भनेको विश्वविद्यालयमा पढ्ने र पढाउँदै गर्दा त्यहाँ पढाउने अधिकांश प्राध्यापकहरूले आफूले पढाउने विषयको नोट ‘फलानो पुस्तक पसलमा छोडिदिन्छु, फोटोकपी किनेर लैजानू’ भनी कक्षाकोठामै उद्घोषण गर्दा कक्षा सकिनासाथ धेरैजसो विद्यार्थीहरू हतार-हतार त्यो पुस्तक पसलतिर दगुर्ने।

त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका निजी पुस्तक पसलमा पाइने अग्रज विद्यार्थीहरूले बनाएर थोरै दाममा अर्थात् चटपटे दाममा बेचेका रफ नोटबुकका फोटोकपी किनेर पढ्ने (हाल यस्तो नहुन सक्छ)। त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको केन्द्रीय पुस्तकालमा गएर निकैबेर लगाएर खोज्दा पनि मुस्किलले भेट्टिने पुराना पुस्तकहरू।

लेख्नको लागि रुपैयाँ दश पर्ने जिस्ताकापी अनि दिनभरिको भोकलाई मज्जाले तह लगाउने एकमात्र उपाय पाँगा दोबाटोको सस्तो चियापसलको दूधचिया र डोनट। साँझ बिहानको छाक टार्न घरबाट बुबाआमाले पठाइदिएको मोटो चामलको भात जसलाई साँझ बिहान दुवै छाकलाई पुग्ने गरी एकैपटक पकाउने, दालको रुपमा गुन्द्रुकको झोल।

कहिलेकाहीँ तरकारीको रुपमा पाँगा दोबाटोको ओरालोमा रहेको पाउ बजारको दश रुपैयाँको दुई मुठा साग या पाउ तरकारी अनि जाडो छेक्न त्यहीँ नजिकैको फुटपाथ पसलमा दिनको दुई-तीन चोटि चक्कर लगाएर बार्गिनिङ गरी अन्तिममा रुपैयाँ एक सयको तीन जोर मोजा।

कीर्तिपुर बस्न आएका अधिकांश विद्यार्थीहरू त्रिभुवन विश्वविद्यालयबाट आफ्नो उच्च शिक्षा अध्ययन गरेर चिल बन्ने धोको लिएका हुन्छन्। चिल अर्थात सबैभन्दा उचाइमा उड्न सक्ने पंक्षी।

तर सबैको धोको ‘चिल’ नभए पनि अधिकांशको धोकोलाई ‘चिल’ बनाउन सफल देशको अग्रणी शैक्षिक धरोहर त्रिभुवन विश्वविद्यालय, साथीहरू भेटघाट गर्ने मुख्य ठाउँ कीर्तिपुरको पाँगा, त्यहाँको सस्तो पसलको दूधचिया र डोनट अनि तरकारी किन्ने पाँगा दोबाटो नजिक बुद्धविहारको ओरालोको पाउ बजार भुल्न हैन, सम्झिन ज्यादा मज्जा आउँछ।

वर्तमान समयमा हेर्दा यहाँको सबैभन्दा ठूलो चुनौती आवासको गुणस्तरीयता हो। जसलाई सम्बन्धित निकायले स्वीकार गरी समाधान गर्न पहल गरोस् र चाँडै समाधान होस्। बस्ने खर्चबारे व्यवस्थापन होस्।

काम पाउने ठाउँ (लेबर मार्केट) बारेमा अनुसन्धान होस् र श्रम बजारमा काम गर्न इच्छुकले आ-आफ्नो योग्यता, क्षमता, समय तथा आवश्यकताअनुसारको रोजगारी पाओस्। सबैले अनुभूति गर्न सक्ने किसिमको भरपर्दो, आधुनिक तथा दिगो विकास होस्।

विकृति, जटिलताहरू, सङ्कूचित बन्धनहरूको प्रभावकारी व्यवस्थापन होस्। पाउ बजार हुर्कँदै, बढ्दै, सुध्रँदै अनि सप्रिँदै किलो बजारमा परिणत होस्। सबैले महसुस गरून् कि, ‘सम्पन्नता कीर्तिपुरमा फर्कदैछ’ अनि ‘फस्टाउँदो र फस्टाउँदै कीर्तिपुर’ को नारा सबैको मुखबाट गुञ्जियोस्। 

https://www.setopati.com/literature/289913

Design a site like this with WordPress.com
Get started